TIME

Saturday, December 26, 2009

बेलायतमा जयमायाहरू





 

बेलायतमा जयमायाहरू

image
मैले बेलायतमा नेपाली विद्यार्थीको कन्तविजोग देखेँ, जुन भनिसाध्य छैन । विश्वको जुनै कुनामा पुगे पनि नेपालीका दुःखका कथा उस्तै रहेछन् । बेलायतमा नेपाली विद्यार्थी खुब 'डिप्रेस्ड' छन् ।
'धेरै भासिएछन् जयमायाहरू । कहाँ गएर अडिने जयमायाहरूले ? अर्थात् नेपालीहरूले ?' बेलायतमा चार साताभन्दा बढी बरालिएर नेपाल फिरेका हास्यकलाकार
जितु नेपाल भावुक बने, 'आँखामा सुखको सपना सजाएर बेलायत पुगेका नेपाली विद्यार्थीको दुःख भनिनसक्नुको छ, जयमायाको जस्तै ।'
जितुसँग हास्य-संवादको सुरुमै कथाकार इन्द्रबहादुर राईको 'जयमाया आफूमात्र लिखापानी आइपुगी' कथाको प्रसंग निस्केपछि नेपाली जयमायाहरूको बारेमा निकैबेर कुरा भए । दुनियाँका अनेक थलोबाट समयका झेली खेलमा परे जयमायाहरू । लघारिए पटक-पटक । भारतबाट, बर्माबाट, भुटानबाट भागिरहे जयमायाहरू ।
तर, इन्द्रबहादुरले बर्माबाट धपिएकी जयमायाका दुःखको कथा मात्र लेखे । हामी भने नेपाली भूमिबाटै विदेश अलप हुने जयमायाहरूका कुरा गर्दैछौँ । 'सारा दुःख सकिन्छ र सुखको दिन फिर्छ' भन्दै बेलायत पुग्ने जयमायाहरूका खुसी उता पुगेपछि पनि उत्तिकै बाँकी रहलान् ? 'अँ हँ रहँदैन,' जितुले सुनाए, 'यहाँका निकै धनी परिवारका छोराछोरी त्यहाँ पुगेर भोकै बसेको पनि देखेँ ।' तर, नानाथरी सपना देखेर लाखौँ खर्चेर बेलायत भासिनेका फनफनी घुम्ने रहरहरूमा ताल्चा लाग्छन् होला ? 'तर, उनीहरूका रहर मेटिँदैनन्,' उनले सुनाए, 'जस्तै दुःखमा भए पनि आफ्नो रहर पूरा गर्ने र सपना भेट्ने कोसिसमा उनीहरू लागिरहन्छन् ।'
***
गएको दसैंपछिका चार साता सांगीतिक कार्यक्रम लिएर हिरो दिलीप रायमाझीसँग बेलायत पुगेका जितुले त्यहाँ हजारौँ नेपाली विद्यार्थीले खेपिरहेको दुःख देखे । त्यही दुःख उनका क्यामेराले कैद गर्‍यो । ती विद्यार्थीले भोगेका दुःख अहिले टेलिभिजनमा देखाइरहेका छन् जितु 'जिरे खुर्सानी'मार्फत ।
'मैले त्यहाँ नेपाली विद्यार्थीको कन्तविजोग देखेँ,' उनले सुनाए, 'जुनै कुनामा पुगे पनि नेपालीका दुःखका कथा उस्तै रहेछन् । हामी जता पुगे पनि दुःख पाएका नेपाली भट्यौँ । उनीहरू खुब 'डिप्रेस्ड' छन् ।' बेलायतका पाँच ठाउँमा सांगीतिक समारोहमार्फत दर्शक हँसाएको पनि उनले सुनाए । 'नेपाली विद्यार्थी यताबाट अध्ययनका लागि बेलायत जाने तर, त्यहाँ रोजगारीको अवसर घटेकाले यस्तो समस्या आएको रहेछ,' उनको निष्कर्ष थियो ।
सरकारी तथ्यांक भन्छ- बेलायतमा २० हजार नेपाली विद्यार्थी छन् । '१८ लाख रुपैयाँबराबरको कारोबार भएको बैंक ब्यालेन्स देखाई कम्तीमा आठ लाख खर्चेर बेलायत पुग्ने विद्यार्थीले जानासाथै रोजगारी पाउँदैन,' पछिल्लो एक महिनाको जितुको अध्ययनले भन्छ, 'उता पुगेका विद्यार्थीले भन्नेबित्तिकै काम पाउँदैनन् र नपाएपछि मानसिक रूपमा कमजोर विद्यार्थीलाई खान र लाउनसमेत धौ-धौको स्थिति छ ।' विद्यार्थीका आँखाले देखेका सबै सपना पूरा नहुने गरेको जितुको अनुभव बोल्छ । 'जिन्दगी आफ्नो सपनाअनुसार नहिँडेपछि उनीहरू पूरै समय 'टेन्सन'मा बस्छन्,' उनले सुनाए, 'सपना खोज्दै आफ्नो देशबाट टाढा पुग्नु र खुला आँखाले देखेको सपनाले पनि धोका दिनुले विद्यार्थी हतास र विचलित मनस्थितिमा हुन्छन् ।'
जितुले काँचको पर्दामा विद्यार्थीका पीडा देखाउन आफ्नो क्यामेरा डुलाउँदै हिँड्दा नेपालमा सुखमा बसेका, पल्सर बाइक हाँकेर सहर चहार्ने, गर्लपेन्ड लिएर महँगो होटल पुगेर 'रिल्याक्स्' गर्ने विद्यार्थी बेलायत पुगेपछि हप्तौँ भोकै बस्नुपरेको अवस्था देखे रे । 'यो सारा जिन्दगी यत्तिकै बित्छ, उता त झन् सुख पाइन्छ भन्ने नेपाली विद्यार्थीकोे जिन्दगीको निख्लो अनुभव पनि देखेँ,' उनले सुनाए, 'बेलायत पुगेर दुःख पाएका विद्यार्थीको अठोट भने गजबको पाएँ, उनीहरू जसरी भए पनि, जुन अवस्थामा बाँचेर भए पनि आफ्नो देश र्फकंदा धेरै पैसा कमाएर जान चाहन्छन् । यता आइहालियो 'अब जे परे पनि गर्छु' भन्ने हुँदोरहेछ,' उनले भने ।
***
पहिलेका वर्षहरूमा नेपालीको संख्या कम थियो र जुनैवेला जस्तो पनि काम पाइन्थ्यो । तर, अब अवस्था त्यस्तो रहेन । 'अहिले सातामा २० घन्टाभन्दा बढी काम गर्न नपाइने नियम बनाइएको रहेछ,' जितुले भने, 'विद्यार्थीले काम पाए पनि यो नियमको कारण पैसा निकै थोरै कमाउँछन्, जुन पैसाले उनीहरूलाई त्यहाँ बस्न र खान पनि पुग्दैन ।' त्यसो भए कति पाउन्ड हो विद्यार्थीको कमाइको रेट ? 'पहिले-पहिले घन्टाको २५/३० पाउन्डसम्म कमाउने विद्यार्थीले अचेल मुस्किलले ५ पाउन्ड मात्र कमाउँछन्,' उनले भने, 'साताभरिको कमाइ एक सय पाउन्ड मात्र हुँदोरहेछ, त्यतिले खान, लगाउन, कलेजको शुल्क तिर्न र घरभाडा कसरी बुझाउनु ?'
***
मध्यमवर्गीय नेपाली विद्यार्थी बैंकमा घरजग्गा धितो नराखी र महँगो ब्याज नतिरी विदेश जान सक्ने अवस्था छैन । 'महँगो ब्याजदरमा पैसा झिकेर बेलायत पुग्ने धेरै विद्यार्थी चिसा रातहरूमा समेत पार्कमै सुत्दारहेछन्,' गम्भीर हुँदै जितुले सुनाए, 'उनीहरू आफ्नो घरको न्यानो ओछ्यान र आमाको माया कति सम्झन्छन् होला ?' उनका क्यामेराले नेपाली विद्यार्थीले दूतावासमा शरण लिने र चिनजानका आफन्तकोमा शरण लिने गरेकोसमेत भेट्टायो । 'पढ्ने र केही पैसा लिएर नेपाल फिर्ने सपना बोकेर उता पुगेका विद्यार्थीलाई नेपालमा रहेका अभिभावकले 'बाबु छिटो पैसा पठाउनू, बैंकमा बुझाउनुपर्छ' भन्दै वेला-वेला गरिने फोनले झनै तनाव थप्नेरहेछ ।' दुःखी विद्यार्थीले ठूला-ठूला आँसुका ढिक्का खसालेर रोएको जितु अहिले पनि सम्झन्छन् । 'उनीहरूको रुवाइले झनै गम्भीर बनायो,' उनले सुनाए ।
उता विद्यार्थी आफ्नो कोठाभाडाको बोझ घटाउन एउटै कोठामा सातजनासम्म बस्ने गरेको उनले सुनाए । 'यसरी बस्ने विद्यार्थी दुई वर्षसम्म लगातार फेल भए कलेजले निष्कासन गरिदिँदोरहेछ,' उनले भने, 'बेलायत पढ्न जाँदा न्यूनतम तीन महिनालाई पुग्ने पैसा लैजाँदा, काठमाडौंबाटै आफू पढ्ने कलेज सुनिश्चित गर्दा कम समस्या पर्नेरहेछ ।' संवादका वेला उनले निकैपटक बेलायतका नेपाली विद्यार्थीलाई 'जयमायाहरू' भने । सायद इन्द्रबहादुरका कथाले उनलाई भित्रैसम्म चस्का दिएको रहेछ ।
***
जितुका यी सबै भोगाइहरू 'जिरे खुर्सानी'मा अझै केही साता देख्न पाइनेछ । हास्य-व्यंग्यको कुरा चल्दै गर्दा अचानक बेलायतको प्रसंग आएपछि यी सबै कुरा भएका थिए । बेलायतमा विद्यार्थीका सपना हुर्किएको देखेका जितुकै सपनाका कुरा गरौँ । हामी जितुको पूरा भएको सपनाको कुरा गर्दैछौँ । जुन कुरा गर्दा जितु आजभन्दा १५ वर्षअघि आफूलाई लैजान्छन् । 'यसो हसाऊँ न त' भनेर साथीहरूको अघि अनुहार बिर्गादा सानैमा साथीहरूले 'तँ त हास्यकलाकार बन्छस्' भनेर हुलिदिएको सपना आज हुर्किएको छ । 'तर मेरो कुनै ठूलो कलाकार बन्ने सपना थिएन,' जितुले भने, 'मात्र टिभीको पर्दामा अनुहार देखाउने रहर थियो ।' रहरै त हुन् नि सपना बन्ने ।
टिभीमा अनुहार बंग्याएर हँसाउने कलाकार देखेर घरका सदस्यका अघि आफू पनि अनुहार बिगार्ने त्यही केटा 'जिरे खुर्सानी'को निर्देशकसम्म बनिसकेको छ । हरिवंशको 'वासुदेव' हेरेर काठमाडौंको गल्लीमा गमक्क पर्दा केटाका आँखाले बल्ल सपना देख्न सुरु गरेका थिए । ती दिन सम्झे जितुले जुन दिनहरूमा उनी सन्तोष पन्तको चर्चित टेलिशृंखला 'आजभोलिका कुरा'मा झिलिक्क अनुहार देखाउन घन्टौं काठमाडौंका गनाउने गल्लीहरू छिचोलेर धापासी पुग्थे रे । १५ वर्षअघि पहिलोपटक उनी आफ्नो अनुहार टेलिभिजनको पर्दामा देखेर बुर्लुक्कै उपि|mएका थिए । 'पहिलोपटक आफ्नो अनुहार टिभीमा देख्दा पहाडै खसेजस्तो भएको थियो,' उनले सम्झे, 'अतीतका ती दिन सम्झँदा निकै मजाको अनुभव हुन्छ ।'
दिउँसो चियाहोटलमा देखिएको भीड नियाल्दै यी कलाकारले सुनाए, 'आजभोलिका कुरा'मा देखिनुको रहरले उडाएर यहाँसम्म ल्याइपुर्‍यायो ।' एकैछिनमा जितुभित्रको निर्देशकले बिस्तारै पर्दा उघार्न थाल्यो, 'म पहिले अर्काले लेखेको स्त्रिmप्टमा आफ्ना रहरहरू पल्टाउँथेँ, अब मैले लेखेका स्त्रिप्टका पानामा अरूका रहरहरू मेटिनेछन् ।'
हाँसोमा जिन्दगीको अर्थ खोज्ने बानी पहिल्यै लागेको हो । यसैले त उनको 'सेन्स अफ ह्युमर' (हास्यचेत) पनि गजबकै छ । 'म अरूलाई जति छिटो हँसाउन सक्छु त्यति चाँडै रुवाउन सक्तिनँ । खासमा म मान्छे रोएको देख्न पनि सक्दिनँ,' उनी भन्छन् ।
टेलिभिजनमा अनुहार देखाउने रहरसँगै काठमाडौंले हास्यकलाकारको चस्का लगाइदियो । टेलिभिजनमा दिनेश डिसीको 'ट्वाक्क टुक्क' सुरु भयो । त्यसैमा अभिनय थाले उनले । यसरी टेलिभिजनले जितुलाई 'नोबडी'बाट 'सेलिबे्रटी' बनाइदिएको समयको कुरा हो यो । 'यसबीच मैले भोगेको समय निकै संघर्षपूर्ण बित्यो,' उनले सुनाए, 'तर, यही समयले मलाई केही बनाइदिएको छ ।'
***
बितेको १५ वर्षदेखि नेपाली दर्शक जितु नेपालको अभिनय हेरेर हाँसिरहेकै छन् । दर्शक आश्चर्य, हाँसो र प्रेमले उनका अभिनय हेरेर घोरिएकै छन् । दर्शक हँसाउन सिपालु जितुले आफ्नो हास्यव्यंग्यको स्तर कहाँ पाएका छन् ? 'मेरा पहिलेका प्रस्तुतिभन्दा पछिल्ला प्रस्तुतिहरूमा केही सुधार आउनु त स्वाभाविकै हो । पहिले म पनि अनुहार बंग्याएर मात्रै हसाउँथेँ,' जितुले सुनाए, 'अहिले मेरा प्रस्तुतिमा समाजका गम्भीर समस्या उठेका छन् जस्तो लागेको छ ।'
नेपाली सिनेमाले आधा शताब्दी बिताइसकेको छ । हास्यव्यंग्य पनि सिनेमासँगै विकास भएको विधा हो । 'सिनेमामा धेरै परिवर्तन भयो । तर, हास्यव्यंग्यमा त्यो परिवर्तन देखिएन,' उनले सुनाए, 'सिनेमामा अनुहार बंग्याएर, जीउ मर्काएर जसरी हँसाउन थालियो अहिले पनि हँसाउने सूत्र त्यही भएको छ । र, दर्शकहरू त्यही एउटै सूत्रमा आफ्नो मनोरञ्जन खोजिरहेका छन् ।'
संवादमा उनले सिनेमालाई पनि गाली गरे । 'नेपाली सिनेमामा कथाको एउटै सूत्र भएजस्तै हास्यमा पनि त्यही एउटै सूत्र मात्र प्रयोग हुन थाल्यो । त्यसमा परिवर्तन आएन,' उनले सुनाए । त्यही सूत्रमा अलमलिएको छ नेपाली हास्यव्यंग्य । आफूले अभिनय गरेका टेलिचलचित्रको लामो सूचीमा खासै नयाँ प्रयोग उनले गरेका छैनन् । 'हास्य टेलिचलचित्रहरूमा नयाँ कथाको प्रयोग भएन,' उनले सुनाए, 'एउटै कलाकारले सधैं उस्तै कथा र स्त्रिmप्टमा अभिनय गरिरहनुपरेको छ । नौलो कथा केही पनि आएन ।'
जितु नेपाल अहिलेसम्म अभिनीत टेलिफिल्महरूमा प्रमुख हास्यपात्र नै भएर उपस्थित भए । उनी निकैपटक गाउँको उट्पट्याङ भएर देखिए । धनी बाबुको बिगि्रएको छोरो पनि बने । केटी जिस्क्याउँदै पछि लाग्दै पनि हँसाए । रक्स्याहा पनि भए । नेताहरूलाई निकैपटक गाली गरे । आजसम्म पनि नेपाली हास्यव्यंग्यको त्यही अवस्था हो । आज पनि ऊ नेताहरूलाई गाली गर्न पछिपरेको छैन । रक्सी खाएर बाटोमा पछारिएकै छ । केटी जिस्क्याउन छोडेको छैन । कुनै गम्भीर भूमिकामा नदेखिईकन सतही भएर उसले आफ्नो समय गुजारेको छ । कहिलेकाहीँ हास्यकलाकार पनि गम्भीर भएर प्रस्तुत भए हुँदैन ? 'टेलिफिल्म हेरिरहेका दर्शकले आफूले दैनिक रूपमा भोगेका समस्या देखाइदेओस् भन्ने चाहेका हुन्छन्,' जितुले सुनाए, 'देशको प्रमुख अंग राजनीति हो । राजनीतिले नै सबै नीति धानेको हुन्छ । राजनीति बिगि्रयो भने सबै भताभुंग हुन्छ । त्यसैले हामीले नेताहरूलाई गाली गर्ने गरेका हौँ । हास्य-कार्यक्रम हेर्न बस्दा दर्शक 'हँसाओस् र हाँस्न पाइओस्' भनेरै बस्छन् । त्यसवेला कलाकार गम्भीर हुने भन्ने कुरा पनि हुँदैन ।'
जितुले नेपाली हास्यनगरीमा चलेका राम्रा कलाकारले पनि आफ्नो 'हास्य-स्टाइल' परिवर्तन गर्न नचाहेरै हास्यव्यंग्यको यो हविगत भएको सुनाए । 'उनीहरू आफ्नो 'स्टाइल' परिवर्तन गर्न डराइरहेका छन्,' उनले भने, 'वर्षौंदेखि चलेको आफ्नो हास्यचेत र आफ्नोपनमा केही परिवर्तन गर्दा फेरि 'फ्लप' हुने डर हाम्रा हास्यकर्मीमा छ । त्यसैले सुरुदेखि नै अनुहार मात्र बंग्याएर, जीउ मात्रै मर्काएर हँसाउन सक्छु भन्नेहरूमा परिवर्तन नआएको हो ।'
***
शारीरिक हाउभाउबाट मात्रै हँसाउने प्रवृत्ति विकास हुनुमा नयाँ सोचाइ र अध्ययनमा कमी हुनु भएको बताउँछन् जितु । त्यसरी शारीरिक हाउभाउ मात्र देखाएर हँसाउने भए जोकर र कलाकारमा के फरक भयो र ? 'जोकर अरूबाट नचाइएको पात्र हो । कलाकार आफैंले प्रस्तुत गर्ने हो,' उनले सुनाए, 'कलाकार आफ्नो मेहनतले बाँच्ने हुन् । जोकर त निर्जीव हो नि ।' कलाकार र जोकरलाई तुलना गरेकोमा उनी हल्का तातेकाजस्ता लाग्थे । 'कलाकारलाई जोकर भन्दा चित्त दुख्छ,' उनले भने, 'हाम्रोमा कलाकारलाई 'रेस्पेक्ट' गर्ने भावना छैन । यो बिग्रेको संस्कृति हो ।'
***
जीवनलाई हाँसोमा उडाउँदैमा त्यो हल्काफुल्का बन्छ र ? 'हामीले जीवनलाई हाँसोमा उडाउन चाहेका होइनौँ । हामीमा हुर्केको प्रवृत्तिलाई मात्र देखाउन खोजेका हौँ । कतिलाई त्यो हल्काफुल्का पनि लाग्न सक्छ,' उनले सुनाए ।
जितु हँसाउने विषयवस्तु कसरी छान्छन् होला ? त्यसवेला के कुरा दिमागमा आउँछ ? कुनै साँझ बाटो हिँड्दा जब न्युरोडको पीपलबोटमाथिबाट काग उड्छन्, जितुको दिमागले कुखुराको चल्ला ढुकिरहेको काग सम्भिmन्छ । त्यसैले त उनी भन्छन्, 'हास्यको विषय जहाँ पनि हुन्छ । मात्र छान्न जान्नुपर्छ ।' एक दिन नयाँ बानेश्वरको सुटिङ घरबाट बाहिर
निस्कँदा उनको मोटरसाइकलमा लभलेटर भेटियो । 'यो रोमाञ्चक प्रसंग मैले मेरो सिरियलमा प्रयोग गरेँ । दैनिक नेताहरूको भाषण, लामो पेट्रोलको लाइन मेरा विषयवस्तु बन्छन्,' उनले भने ।
***
टेलिभिजनमा अनुहार देखाउने जितुको सपना आज हास्य-निर्देशकसम्म आइपुगेको छ । आखिर सपना कतै अड्केर बस्ने पनि त होइन । त्यो लम्बिन सक्छ वा टुंगिन पनि सक्छ । उनका जीवनका केही सपना पूरा हुन बाँकी छन् । के हुन् ? अँ हँ उनी भन्न चाहँदैनन् । तर, यति भने, 'पुरानै सपना पछ्याउँदै जान्छु ।' उनका जिन्दगीका बितेका पानाहरू पल्टाउँदै जाँदा 'पूरा हुन बाँकी सपना' कति नम्बरमा फेला पर्लान् हँ ?

 

No comments:

Post a Comment